काठमाडौं । नेपाल वायुसेवा निगमले चीनको ग्वान्जाओमा सिधा उडान शुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौं–ग्वान्जाओ–काठमाडौं नियमित उडान सञ्चालन थालेको हो ।
निगमले चीनको ग्वान्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको थियो । तर, केही प्राविधिक कमजोरीका कारण उद्घाटन उडान शनिबार दिउँसो मात्र भएकाे हाे ।
निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार, काठमाडौंबाट शनिबार दिउँसो ग्वान्जाओ उडेको विमान यहाँबाट १०७ सात यात्रु लिएर आइतबार काठमाडौं फर्किएको छ । अब पूर्वनिर्धारित तालिकाबमोजिम नै ग्वान्जाओमा नियमित उडान हुनेछ ।
निगमले हरेक हप्ता तीन नियमित उडान गर्ने तालिका तय गरेको छ। पहिलो उडान असोज १२ गते हुनेछ । त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान पनि तय गरिएको छ । त्यसपश्चात् प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वान्जाओतर्फ सिधा उडान हुनेछ ।
काठमाडौंबाट ग्वान्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ । ग्वान्जाओसँगै अब नौ देशका ११ गन्तव्यमा निगमको नियमित उडान हुने भएको छ ।

September 28, 2025, Jyotishsanchar press

