काभ्रे । विगतमा जस्तै यसवर्ष पनि काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० स्थित आँपचौरमा तीन जनाको नाममा पितरा निकालिएको छ । विजया दशमीको भोलिपल्ट शुक्रबार पितरा निकालिएको हो ।
गतवर्ष भाइटीकाको भोलिपल्टदेखि यस वर्षको विजया दशमीका दिनसम्म गाउँमा तीन जनाको निधन भएको थियो । स्थानीय शिवमाया माझी, हर्कबहादुर माझी र धना माझीको नाममा पितरा निकालिएको हो । यसका लागि यहाँ विजया दशमीका दिनदेखि नै तयारी गरिएको थियो ।
नेपाल विविध जातजाती र भेषभुषाका मानिसहरुको साझा घर हो । यहाँ बसोबास गर्ने सबैका आ–आफ्नै संस्कृति र परम्परा छन् । यसमध्ये एक हो माझी जाती । जसको आफ्नै पहिचान जोगाउने संस्कृति पितरापर्व अहिले पनि प्रचलनमा छ ।
धेरै झण्जट झेल्दै भएपनि उनीहरुले यस पर्वलाई जोगाइरहेका छन् । अन्य जातीहरुमा मानिस मरेपछि वार्षिक पुण्य तिथीमा श्राद्ध गर्ने चलन छ । तर माझी जातीमा मरेका आफन्तको नाममा एकपटक पितरा निकालेपछि कहिल्यै पनि वार्षिक श्राद्ध गर्नु पर्दैन । यो जातीमा परम्परादेखि नै जीवन्त रहेको यस्तो पर्वलाई नै सामान्य बुझिने भाषामा पितरापर्व भनिने गरिएको आँपचौरका राजकुमार माझीले बताउनुभयो । यो परम्परा कहिलेदेखि र किन प्रचलनमा रहेको हो भन्ने बारेमा अधिकांशहरु अनभिज्ञ रहेपनि यसलाई जोगाउनु पर्छ भन्नेमा युवादेखि वृद्धहरु सबैको एकमत रहेको पाइएको छ ।

October 3, 2025, Jyotishsanchar press

