काठमाडौँ। प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएको दिनदेखि शुरु हुने कार्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवतरुपमा शुरु गरिएको छ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म गरिने यी धार्मिक कार्यहरूले सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने शास्त्रीय मान्यता छ।
कार्तिक स्नानसहित घरघरमा विशेषरूपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने विश्वास छ। तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ। आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ। यसका लागि पाएसम्म बाँसको, नपाएमा पलाँस, खएर वा पीपल आदिको लिङ्गो ठड्याएर दीप बाल्ने गरिन्छ।
शास्त्रीय मान्यताअनुसार, कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने नियम छ। यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ।

October 7, 2025, Jyotishsanchar press

