धुलिखेल । नेपाल प्रेस युनियन काभ्रेले शनिबार शुभ दीपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना र सम्मान तथा संस्थाको वार्षिक साधारणसभा र सय दिने सदस्यता विशेष अभियान समापन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं विश्व विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल प्रमुख अतिथी हुनुहुन्थ्यो ।
शाखा अध्यक्ष नगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गत वर्ष मंसिरमा सम्पन्न नेपाल पत्रकार महासंघका निर्वाचित कार्यसमिति तथा विभिन्न समयमा संस्थालाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लम्सालले श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि प्रेस युनियन सधैं अग्रपंक्तीमा उभिँदै आएको इतिहास सम्झाउँदै आगामी दिनमा पनि सधैं सक्रिय रहने बताउनुभयो । अहिलेको सन्दर्भमा ०७२ सालको संविधानमा उल्लेख पूर्ण प्रेस स्वतन्त्रतासहित संविधान जोगाउनका लागि पत्रकारहरुलाई चुनौती आइरहेको प्रति सचेत गराउँदै लम्सालले यसमा सबै पत्रकार सम्बद्ध संघसंस्थाहरुले अहम भूमिका निभाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जेनजी आन्दोलनका सकारात्मक पक्ष भएपनि व्यक्तिलक्षित र सार्वजनिक सम्पत्तीलक्षित तोडफोड जेनजीको माग नभएको जिकिर गर्नुभयो । उहाँले व्यक्तिले गल्ती गरेको हुनसक्ने तर भवनले कुनै गल्ती नगरेको र ती भौतिक सम्पत्तीमा आगजनी गर्नु दुःखद रहेको भन्दै बनेपा नगरपालिकाले २० प्रतिशत योजनाहरु कटौती गरेको बताउनुभयो ।
शुभकामनाकै क्रममा पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष भोजराज तिमल्सिनाले पत्रकारहरु स्वतन्त्र हौं भन्ने तर कुनै राजनीतिक संस्थाका प्रतिनिधी जसरी समाचार लेख्न नहुने बताउनुभयो । उहाँले पत्रकारहरुले विशुद्धरुपमा स्वतन्त्र भएर कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।

October 18, 2025, Jyotishsanchar press

