रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।
शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्ले पुर्याएपछि मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका–१ की १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक छन्।
दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते हुनेमा आठविसकोट नगरपालिका–२ कि १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया सङ्गीता बुढा र १९ वर्षीया शान्ति बुढा छन्।
त्यस्तै, अन्य घाइतेमा १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र जिप चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेको प्रहरीले जनाएकाे छ ।

October 25, 2025, Jyotishsanchar press

