यस्ताे छ राष्ट्रपतिद्वारा छठ पर्वको अवसरमा व्यक्त शुभकामना (पूर्णपाठसहित)

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएकाे छ।

शुभकामनाकाे पूर्णपाठ यस्ताे छः
छठ पर्व, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।

सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवम् हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको पाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रध्दा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय हो । दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्‌भाव र समृद्धिको कामना गरी मनाउने यस पर्वले समग्ररूपमा प्रकाश र उर्जा प्रदान गर्ने सूर्य देवको आराधना गरी सामाजिक र प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको देखिन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाईने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ । सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवम् पारिवारिक र सामाजिक ऐक्यवद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।

यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‍भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।

अन्त्यमा, यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !
२०८२ साल कात्तिक १० गते सोमबार ।
ने.सं. ११४६ कछलाथ्व षष्‍ठी।

Ram Chandra Paudyal

October 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको