काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठ पारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती मनाइँदैछ ।
वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १३३ वर्षअघि मार्ग शीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रूपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास छ ।
कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिए । चार वेदका एक हजार १३१ शाखामध्ये हाल १२ वटा मात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले बताए ।
प्रतिष्ठानले ११ वर्षअघिदेखि मोक्षदा एकादशीका दिन गीता जयन्ती मनाइँदै आएको छ । यसैगरी गीता मन्दिर स्वयम्भूमा पनि आज कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

December 1, 2025, Jyotishsanchar press

