काठमाडौँ । आज ‘विश्व ध्यान दिवस’ मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।
यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिकरूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो ।
सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो ।

December 21, 2025, Jyotishsanchar press

