सिन्धुपाल्चोकमा छैठौँ गुफाडाँडा जलवायु सम्मेलन हुँदै

सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाको आयोजनामा आगामी पौष १७ गते “छैठौँ गुफाडाँडा जलवायु सम्मेलन २०८२” आयोजना हुने भएको छ। सम्मेलन बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ।

सम्मेलनमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ, स्वास्थ्य मन्त्री किरण थापा र वन तथा वातावरण मन्त्री भरतबहादुर केसीको विशेष आतिथ्य रहने बताइएकाे छ।

जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती, त्यसको स्थानीय तहमा परेको प्रभाव, अनुकूलन तथा न्यूनीकरणका उपायहरूबारे विचार–विमर्श गर्दै साझा प्रतिबद्धता विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सिन्धुपाल्चोक जिल्लाभित्रका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, छिमेकी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, साथै जिल्लास्थित सरकारी निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने छ। सम्मेलनमार्फत नीति निर्माण, कार्यान्वयन र अन्तरसरकारी समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

गुफाडाँडालाई केन्द्र बनाएर विगतदेखि निरन्तर हुँदै आएका जलवायु सम्मेलनहरूले स्थानीयदेखि प्रदेशस्तरसम्म जलवायु एजेन्डालाई संस्थागत गर्न योगदान पुर्‍याउँदै आएको छ। छैठौँ संस्करणले पनि जलवायु न्याय, दिगो विकास र वातावरण संरक्षणमा ठोस निष्कर्ष निकाल्ने विश्वास लिइएको छ।

604965552 1216553933748242 4423649889170553498 N

December 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको