काठमाडाैं । नेपाली कांग्रेसले आज तीन वटा छुट्टाछुट्टै बैठक बोलाएको छ। संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ। बैठकमा पार्टी सभापति गगन थापाले सहमतिको प्रस्ताव पेस गर्दै त्यहीँबाट नेताको नाम टुङ्ग्याउने तयारी गरिएको छ।
यसपछि दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार उक्त बैठकले नेता चयनसम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिँदै अनुमोदन गर्ने कार्यसूची राखेको छ।
त्यस्तै दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय अनुशासन समितिको बैठक बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार प्रतिनिधि सभा निर्वाचनका क्रममा आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेकाहरू र तिनका समर्थकहरूमाथि परेका उजुरीबारे छलफल हुनेछ। साथै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछाप सभापति कान्छाराम तामाङसँग सोधिएको स्पष्टीकरणका विषयमा पनि निर्णय लिने तयारी गरिएको छ।

