काठमाडौँ । लोकप्रिय गायक तथा संगीतकार स्वर्गीय बिक्रम राईको पहिलो स्मृति सभा सोमबार आयोजना गरिएको छ ।
स्मृति सभामा नेपाली सांगीतिक क्षेत्रका दर्जनौँ कलाकारहरुको उपस्थिती थियो । उनकी प्रेमिका अर्जुना राईद्वारा कपनस्थित आफ्नै निवासमा आयोजित स्मृति सभामा गायक गायिकाले स्वर्गीय राईका गीतहरु गाउँदा कार्यक्रम स्थलमा भावविव्हल भएका थिए भने धेरै कलाकारहरुले गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल विक्रमले नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।
कार्यकममा उनको स्वर तथा संगीतमा रहेको गीत ‘कुलुलु बग्ने’ को भिडियो पनि सार्वजनिक गरिएको थियो । ईश्वर चामलिंगको शब्द र देबेश राईको एरेन्ज रहेको गीतको भिडियोलाई उनको जीवनकथामा तयार पारिएको छ । वेदना राई र सरोज खालिंग राईको अभिनय रहेको भिडियोलाई राजेश पुमाले निर्देशन गरेका हुन् । उत्सव दाहालको सीनेमाटोग्राफी र विकाश धमलाको सम्पादन रहेको भिडियोलाई अर्जुना राईले नै निर्माण गरेकी हुन् ।
खोटाङका स्थायी बासिन्दा राईको ३१ बर्षको अल्पायुमै गत बर्ष फागुन १८ गते निधन भएको थियो । उनी डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय थिए । राईले संगीत भरेका तथा गाएका गीतहरू सयौंको संख्यामा छन् । ‘हौवा हौ दर्शन नमस्ते’, ‘तिम्ले बाटो फेर्यौ अरे’ २ र ३, ‘जीवनसाथी तिमीलाई छ मेरो सलाम’ (मेल भर्सन)लगायत गीत चर्चित छन् ।

March 3, 2026, Jyotishsanchar press

