काठमाडौं । शीतभण्डार निर्माण योजनामा प्रचलित कानुनविपरीत काम नगरी अधुरो अवस्थामा छाड्दै रकम भुक्तानी लिई भ्रष्टाचार गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सचिव सहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सम्मरीमाइ गाउँपालिका–५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारको गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी भुक्तानी लिएको भन्दै उजुरी परेको थियो। त्यही उजुरीको आधारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आरोपपत्रअनुसार शीतभण्डार निर्माण योजनामा प्रचलित कानुनविपरीत काम नगरी अधुरो अवस्थामा छाड्दै रकम भुक्तानी लिई भ्रष्टाचार गरिएको आरोप लगाइएको छ।
उक्त आरोपमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७६/७७ मा ७१ लाख ९७ हजार ९८० रुपैयाँ हिनामिना भएको खुलेको आयोगले जनाएको छ। सोही रकम बराबर बिगो तथा जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।

