काठमाडौँ । बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जनाएकाे छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा आजदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम कारबाही गर्न विभागले अनुरोध गरेकाे छ ।
यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा भने बिहानैबाट असर गर्ने बताइएकाे छ । दिउँसो त्यसको असर काठमाडौँमा पनि आइपुग्ने छ।
विभागले मंगलबार साँझ जारी गरेको बुलेटिनअनुसार बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भागमा साधारणतया बादल लाग्ने छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भागका केही स्थानहरुमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

