नेपालको इतिहासको पानामा विक्रम संवत् (वि.सं.) केवल एक पात्रो मात्र नभई, नेपाली स्वाभिमान, सांस्कृतिक परम्परा र ऐतिहासिक निरन्तरताको अमूल्य प्रतीकको रूपमा स्थापित भएको देखिन्छ। यसको उत्पत्ति, प्रयोग र प्रसारसँग सम्बन्धित अनेकौं मान्यताहरू भए पनि, नेपालमा यसको गहिरो ऐतिहासिक आधार र परम्परागत प्रयोगले यसलाई विशिष्ट बनाएको छ।
नेपालमण्डलको राजधानी प्राचीन समयमा विशालनगरमा रहेको प्रमाण पाइन्छ, जहाँ शासकहरू वैशालाधिप भनेर चिनिन्थे। उनीहरूको ईष्टदेवी बज्रयोगिनी थिइन्। जब किराँतहरूले नेपालमण्डलमा आक्रमण गरी सत्ता हात पारे, त्यहाँका शासकहरू भागेर गोदावरी क्षेत्रतिर लुके र पुन: संगठित हुने प्रयासमा लागिरहे। इतिहासमा महा प्रतापी राजा विक्रमपालले पुनः संगठित भई बसेकाहरूलाई समेत साथमा लिएर आक्रमण गरि किराँतहरूलाई पराजित गरेको उल्लेख पाइन्छ। राष्ट्रगुरु योगी नरहरिनाथका अनुसार विक्रमपाल धर्मपाल, भूमिबर्मा आदि नामले समेत परिचित थिए।
भाषा वंशावलीमा उल्लेख गरिएको एक श्लोक:
जित्वा कैरातराजानं ।वाक्येन प्रत्ययेन च ।।
करिष्यति तदा राज्यं ।वैशाल्याधिपतिवली ।।
यो श्लोकले विक्रमपालको विजयगाथालाई पुष्टि गर्छ। उनले किराँतहरूलाई जितेपछि नेपालको दक्षिणी सीमा काशीसम्म विस्तार गरेका थिए र त्यहाँ नेपाली काशी विश्वनाथ मन्दिर निर्माण गरेका थिए भन्ने जनश्रुति छ। त्यसपछि उनले “वीर विक्रमादित्य” को उपाधि प्राप्त गरे र आफ्नै नाममा विक्रम संवत् प्रारम्भ गरेका थिए।
उनको राजधानी उत्तरापुर, वर्तमान साँखु रहेको मानिन्छ। त्यहाँको बज्रयोगिनी मन्दिरमा आज पनि विक्रमादित्यको मूर्तिको टाउको रहेको र बज्राचार्य पुजारीहरूले पूजा गर्ने परम्परा जीवित रहेको तथ्य इतिहासमा देखिन्छ। साँखुस्थित राममन्दिर क्षेत्रलाई बत्तीसपुतली भनिनुको कारण पनि उनको सिंहासनमा रहेका ३२ पुतलीहरू हुन् भन्ने विश्वास पाइन्छ।
नेपालभर विक्रम संवत् लेखिएको शिलालेखहरूको प्रचुरता छ। कतै “श्रीसंवत्” भनेर त कतै “संवत्” भनेर उल्लेख गरिएको पाइन्छ, जुन कतिपय इतिहासकारहरूका अनुसार वास्तवमा विक्रम संवत् नै हो। लिच्छविकालदेखि मल्लकालसम्मको शिलालेख तथा अभिलेखहरूमा वि.सं. को व्यापक प्रयोग पाइन्छ। उदाहरणका लागि, कीर्तिपुरको भैरव मन्दिर नजिकको शिलालेख (वि.सं. १२७६), भक्तपुरको च्यासलस्थित अन्नपूर्णा मन्दिरको अभिलेख (वि.सं. १५५८), र पाटन दरबारको विभिन्न ताम्रपत्रहरूले यस संवतको निरन्तर प्रयोग देखाउँछन्।
यद्यपि ईण्डियामा उज्जयिनीका राजा विक्रमादित्यले विक्रम संवत् आरम्भ गरेको भन्ने धारणा प्रचलित छ। तर, त्यसको ऐतिहासिक पुष्टि पाइँदैन। भारतका विक्रमादित्य उपाधि लिने राजा इसाको दोस्रो शताब्दीमा मात्र देखिन्छन्, जब कि चन्द्रगुप्तका छोरा (जसले विक्रमादित्य पदवी धारण गरेका थिए) चन्द्रगुप्त द्वितीय इसा पूर्व २०० आसपास मात्रै शासनमा थिए। त्यसमाथि ईण्डियामा विक्रम संवत् लेखिएको कुनै पुरानो शिलालेख फेला नपर्नु, र ईण्डियाका ज्योतिर्विद् बाराहमिहिर (जसलाई विक्रमादित्यका गुरु मानिन्छ) ती इसाको छैठौं शताब्दीका हुनु, जबकि विक्रम संवत् इसा पूर्व ५७ बाट शुरू भएको मानिन्छ—यस्ता तथ्यले विक्रम संवत् ईण्डियामा उत्पत्तिको दाबीलाई कमजोर बनाउँछन्। (स्रोत: R.C. Majumdar, “Ancient India”, Bhavan’s Book University, 2001)
नेपालमा भने विक्रम संवत् न केवल शासकीय, धार्मिक, सामाजिक प्रयोगमा व्यापक थियो, तर चन्द्र शमशेरले विक्रम संवतलाई दिनगते प्रणालीमा परिमार्जन गरेर अझ व्यवहारिक र प्रचलनशील बनाए। यसरी विक्रम संवत् सरकारी प्रशासनिक तलब वितरण, शिक्षाको समय तालिका, चाडपर्व सबैमा प्रयोग हुने बन्यो। (स्रोत: D.R. Regmi, “Ancient Nepal”, Calcutta: Firma KLM, 1965)
नेपाल संवत् र शक संवत् सँगको तुलना गर्दा विक्रम संवत् व्यवहारिक दृष्टिले सजिलो छ। नेपालमा तिथि गणनाको आधारमा संवत् चलाउँदा हुने अन्योललाई दिनगतेमार्फत हल गरिएकोले पनि यसको प्रयोग आजसम्म निरन्तर छ।
प्राचीन नेपाल राज्यको सिमाना पश्चिममा गण्डकी, पूर्वमा कैसिकी, उत्तरमा नीलकण्ठेश्वर र दक्षिणमा नटारम्भेश्वरसम्म फैलिएको थियो। यस भूगोलमा प्राचीन राज्य व्यवस्था, ईष्टदेवी, पुरातात्त्विक प्रमाण र सांस्कृतिक निरन्तरताले विक्रम संवत् नेपाली मौलिकता र गौरवको संवाहक बनेको छ।
निष्कर्षतः, विक्रम संवत् केवल समय गणनाको माध्यम मात्र होइन, नेपालको ऐतिहासिक आत्मनिर्भरता, सांस्कृतिक निरन्तरता, र राष्ट्रिय एकताको प्रतीक हो। यसको उत्पत्तिको विषयमा अनावश्यक भ्रम सिर्जना गरेर नेपाली मौलिकता कमजोर पार्न खोज्नु राष्ट्रप्रति अन्याय हो। यथार्थतः, यसको उत्पत्ति र प्रयोग नेपाली माटोमा गहिरो रूपमा जरा गाडिएको छ, जुन विषयमा हामीलाई गर्व गर्नु पर्छ र यसको अध्ययन, प्रचार र संरक्षणलाई अझ सशक्त बनाउनुपर्छ। विक्रम संवत् नेपालको राष्ट्रिय पहिचानको अभिन्न अंश हो र यसको ऐतिहासिक पृष्ठभूमिलाई उजागर गर्दै नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने आवश्यकता छ।

