काठमाडाैं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित संविधानविद् तथा कानुनविद्हरूसँगको परामर्श बैठकमा उनले यस्तो आशंका नगर्न आग्रह गरे। शाहले सरकारको १०० दिने कार्ययोजनाअनुसार नै बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको स्पष्ट पारे।
उनका अनुसार संविधान संशोधन कुनै एक दल वा सरकारको इच्छामात्र नभई राष्ट्रिय सहमतिबाट सम्भव हुने विषय हो। उनले बहसपत्रमा व्यापक छलफल र विमर्शपछि सबैको सहमति जुटेपछि मात्र संशोधन प्रक्रिया अघि बढ्ने बताए।

