काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गमा अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।
ललितपुरको नागवहालस्थित हिरण्यवर्ण महाविहारमा आयोजित तारेमाम् संघको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा उतार्न सके मात्र दिगो शान्ति र समृद्धिको आधार तयार हुने उल्लेख गरे । वर्तमान विश्व द्वन्द्व, स्वार्थपरायणता, नैतिक ह्रास र असहिष्णुताले ग्रस्त रहेको सन्दर्भमा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको उनको भनाइ थियो ।
साथै, बुद्धका शिक्षाले मानवजातिलाई सुख, शान्ति र आनन्दतर्फ मार्गदर्शन गर्ने उल्लेख गर्दै शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको उनले बताए ।

