काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नेकपा (एमाले) पार्टी सदस्यता नवीकरण भए पनि हाल ‘होल्ड’ अवस्थामा रहेको बताएकी छिन्। नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू एमालेसँग विभिन्न हिसाबले जोडिएको उल्लेख गरिन्।
उनका अनुसार एमाले देशभक्त, राष्ट्रवादी, प्रगतिशील र सामाजिक न्यायका पक्षधरहरूको संगठन हो। उनले भनिन्, “मैले एमालेको पार्टी सदस्यता नवीकरण गरेको छु, तर अहिले होल्डमा छ।”
भण्डारीले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) एक महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गर्दै त्यसको श्रेय स्व. नेता मदन भण्डारीलाई जाने बताइन्। साथै, आफू पनि एमाले र जबजसँग गहिरो रूपमा जोडिएको उनले दोहोर्याइन्।
उनले राजनीतिक विषयमा थप छलफल र बहस आवश्यक रहेको पनि उल्लेख गरिन्। पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी पछिल्लो समय विभिन्न राजनीतिक गतिविधिमा सक्रिय देखिँदै आएकी छिन्।

