काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन स्थानीयवासी र भक्तजनले माग गरेका छन्। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रमा वर्षौँदेखि अतिक्रमण बढ्दै जाँदा मन्दिरमा हुने धार्मिक तथा सांस्कृतिक गतिविधि प्रभावित हुँदै आएको छ।
गोकर्णेश्वर नगरपालिका–४ अन्तर्गत पर्ने मन्दिर क्षेत्रको जग्गा अतिक्रमणका कारण विशेषगरी भाद्र कृष्ण औँसीका दिन लाग्ने मेला, पितृ पक्ष तथा पौष कृष्ण औँसीमा हुने पूजाआजा र श्रद्धालुको भीड व्यवस्थापनमा समस्या देखिएको छ। वडाअध्यक्ष जयराम महतका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरी १४ वटा घर निर्माण भएका छन्।
मन्दिरमाथि रहेको करिब ६५० रोपनी सामुदायिक वन क्षेत्रअन्तर्गत यज्ञडोल सामुदायिक वनमा हाल राष्ट्रिय सहिद तथा निजामती स्मारक निर्माण भइरहेको छ। मन्दिरसँग जोडिएको अतिक्रमित जग्गा पछिल्लो समय सहयोगी माध्यमिक विद्यालयलाई भोगाधिकार दिइएको सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ।
यस क्षेत्रलाई व्यवस्थित बनाउन विगतमा काठमाडौँ उपत्यका विकास प्राधिकरण सम्म प्रस्ताव पुगे पनि कार्यान्वयन हुन सकेको छैन। स्थानीय तहको समन्वय अभावका कारण योजना अघि बढ्न नसकेको सरोकारवालाले बताएका छन्।
वडा कार्यालयका अनुसार मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरी घर बनाएकाहरूको अन्यत्र पनि सम्पत्ति रहेको छ। देशका अन्य स्थानमा अतिक्रमण हटाउने अभियान चलिरहेका बेला यहाँका संरचना पनि हटाइनुपर्ने स्थानीय र भक्तजनको माग छ।

