काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विपद्का बेला अग्रभागमा रहेर जनताको सेवा गर्ने प्रहरी सङ्गठनलाई थप सशक्त बनाउने बताउनुभएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१औँ प्रहरी दिवस समारोहमा उहाँको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उक्त जानकारी दिनुभएको हो।
प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धिका लागि आधुनिक तालिम र कानुनी सहजतामा जोड दिँदै प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ। साथै, वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंक, इन्टरनेट सेवा प्रदायक र डिजिटल सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरिने उहाँले उल्लेख गर्नुभएको छ।

