चितवन । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने ई–टिकटिङ प्रणाली सुरु गरेको छ। बिहीबार चितवन क्षेत्र नं. १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले उक्त प्रणालीको उद्घाटन गर्नुभएको हो।
पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ। परीक्षणको नतिजाका आधारमा निकुञ्जका अन्य प्रवेश नाकामा समेत यो सेवा विस्तार गरिने जनाइएको छ। यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो।
नयाँ प्रणालीमार्फत पर्यटकले घरबाटै आवश्यक विवरण भरेर टिकट काट्न सक्नेछन्। प्रक्रिया पूरा भएपछि प्राप्त हुने क्यूआर कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिने निकुञ्ज कार्यालयले जनाएको छ। यसले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्नुका साथै पर्यटन सेवालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार चितवन राष्ट्रिय निकुञ्जको ७० देखि ७५ प्रतिशत राजस्व सौराहा क्षेत्रबाट सङ्कलन हुने भएकाले यस क्षेत्रमा ई–टिकटिङ प्रणाली आवश्यक देखिएको हो। प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिने उहाँले बताउनुभयो।
सांसद ढकालले प्रविधिको प्रयोगबाट सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै प्रणालीलाई थप प्रभावकारी बनाउन पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेट्नुपर्ने बताउनुभयो। उहाँले निकुञ्ज प्रवेशका लागि काटिएको टिकट एक दिन मात्र मान्य हुने व्यवस्थालाई परिवर्तन गरी तीन दिनसम्म प्रयोग गर्न मिल्ने बनाउन पहल भइरहेको जानकारीसमेत दिनुभयो।
निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकले एक हजार रुपैयाँ र अन्य विदेशी पर्यटकले दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। पर्यटक बोक्ने जिपले निकुञ्जमा एकपटक प्रवेश गर्दा पाँच हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ।
चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि प्रसिद्ध छ। गत आर्थिक वर्षमा निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए। सो अवधिमा निकुञ्जले पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

