चैत मसान्तभित्र सुकुमवासी व्यवस्थापन गर्न रास्वपाको सरकारलाई आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हाल हटाइएका अतिक्रमित संरचना र सुकुमवासी बस्तीबाट विस्थापित नागरिकहरूको गाँस, बास र स्वास्थ्यलगायत सम्पूर्ण व्यवस्था यस वर्षको चैत मसान्तभित्र गर्न सरकारलाई आग्रह गरेको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झा ले अधिकारसम्पन्न प्राधिकरण गठन गरेर सुकुमवासीको पूर्ण लगत सङ्कलन नगरेसम्म अन्य स्थानमा घर वा संरचना भत्काउन डोजर प्रयोग नगर्न सरकारलाई सुझाव दिएको जानकारी दिए।

बैठकले अतिक्रमण नियन्त्रण र सुकुमवासी व्यवस्थापनलाई चुनावी वाचापत्रअनुसार अघि बढाउनुपर्नेमा जोड दिएको छ। साथै, विस्थापित नागरिकलाई सुरक्षित र व्यवस्थित बसोबासमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरिएको छ।

रास्वपाले दिगो समाधानका लागि प्राधिकरणमार्फत व्यवस्थापन गर्ने र कम्तीमा ७५ प्रतिशत सुकुमवासीको व्यवस्थापन चैत मसान्तभित्र गर्नुपर्ने लक्ष्य पनि प्रस्तुत गरेको छ।

त्यस्तै, आगामी स्थानीय तह निर्वाचनका लागि ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप क्लास’ अनिवार्य योग्यता हुने व्यवस्था पारित गरिएको र उम्मेदवार छनोट कार्यविधि पनि स्वीकृत गरिएको पार्टीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको