रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
शनिबार कटहरिया–९ डुमरिया टोलमा भएको घटनामा ३० वर्षीय शंकर माझी पक्राउ परेका हुन्। प्रहरीले अन्य केही व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ।
स्थानीय केही व्यक्तिहरूले ती महिलालाई बोक्सी भन्दै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। कुटपिटका क्रममा पीडितलाई जबरजस्ती मलमुत्र खुवाइएको अमानवीय व्यवहारसमेत गरिएको प्रहरीले जनाएको छ।
घटनापछि पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएकी थिइन्। उजुरीपछि खटिएको प्रहरीले आरोपितमध्ये शंकर माझीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

