काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा सवारी आवागमन रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
प्राधिकरणले जोखिमपूर्ण स्थानमा सवारी आवागमन बन्द गर्ने आदेशको अवज्ञा गर्ने सवारी चालक तथा सवारीधनीमाथि कारबाही गर्न पनि निर्देशन दिएको छ।
सोमबार साँझ काभ्रेको रोशी खोलामा पानीको बहाव बढेपछि सुरक्षित स्थानमा रोक्दारोक्दै पाँच सवारी साधन अगाडि बढ्दा यात्रुहरू बाढीमा फसेका थिए। पछि सबै ८९ यात्रुको सकुशल उद्धार गरिएको थियो।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार यस्ता घटनापछि सडकको जोखिम मूल्यांकन गरी आवश्यकतानुसार आवागमन बन्द गर्न निर्देशन दिइएको हो।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीलाई अनिवार्य पालना गर्न पनि सबैलाई अनुरोध गरेको छ।

