काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ वटा मोटरसाइकल तथा स्कुटर प्रहरीले फेला पारेर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित कार्यक्रममा ४५ वटा मोटरसाइकल र २० वटा स्कुटर सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।
कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपत्यकामा पछिल्लो समय सवारी चोरीका घटना बढ्दै गएको भन्दै नियन्त्रणका लागि विशेष रणनीतिअनुसार प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार सादा पोशाकमा खटिएको विशेष टोलीले विभिन्न स्थानमा निगरानी, खोजतलास तथा सूचनाका आधारमा अभियान सञ्चालन गर्दै आएको छ ।
प्रहरीका अनुसार चोरी भएका अधिकांश सवारीसाधन नम्बर परिवर्तन गरी प्रयोग गरिएको अवस्थामा फेला परेका थिए भने केही बिक्रीको तयारी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । अनुसन्धानका क्रममा चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सवारीसाधन फिर्ता पाएपछि धेरै सवारीधनीले खुसी व्यक्त गरेका छन् । केहीले लामो समयदेखि हराएको मोटरसाइकल भेटिने आशा नै त्यागिसकेको अवस्थामा प्रहरीको सक्रियताले फिर्ता पाएको भन्दै धन्यवाद दिएका थिए ।
प्रहरीले सार्वजनिक स्थानमा सवारी पार्क गर्दा सुरक्षित स्थान छनोट गर्न, डबल लक प्रणाली अपनाउन तथा अपरिचित व्यक्तिलाई सवारी नदिन नागरिकलाई आग्रह गरेको छ ।
सीसीटीभी निगरानी, डिजिटल प्रविधि तथा विशेष टोलीको प्रयोगका कारण चोरी भएका सवारीसाधन फेला पार्ने दर बढ्दै गएको प्रहरीको भनाइ छ ।

