सुर्खेत उपत्यका नगर विकास समितिका पाँच जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सटर र कवल भाडाबाट प्राप्त आम्दानी बैंक दाखिला नगरी अनियमितता गरेको आरोपमा तत्कालीन सदस्य सचिव टिकाराम ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

त्यस्तै, तत्कालीन सदस्य सचिव नरहरि तिवारीविरुद्ध १ करोड ४ लाख ७१ हजार ९४२ रुपैयाँ, गेहेन्द्रबहादुर डाँगीविरुद्ध ७२ लाख ७८ हजार ११० रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यस्तै, तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीकी श्रीमती सीमाकुमारी चन्द क्षत्रीविरुद्ध २ करोड ९० लाख ९६ हजार ४४१ रुपैयाँ तथा तत्कालीन सहलेखापाल खड्गबहादुर रानाविरुद्ध २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बिगो मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलित ४ करोड १८ लाख ४ हजार ३०३ रुपैयाँमध्ये १ करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्र बैंक दाखिला भएको देखिएको छ। बाँकी २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ दाखिला नगरी हिनामिना भएको अनुसन्धानबाट खुलेको हो।

अनुसन्धानका क्रममा गैरकानुनी क्रियाकलाप पुष्टि भएपछि आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको