काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका क्रममा हालसम्म पाँच जनाको मृत्यु भएको छ।
नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले जारी गरेको विज्ञप्तिअनुसार सगरमाथा र मकालु हिमालमा भएका छुट्टाछुट्टै घटनामा पाँच आरोही तथा गाइडको ज्यान गएको हो।
विभागका अनुसार वैशाख २० गतेदेखि हालसम्म भएका घटनामा तीन नेपाली र दुई विदेशी नागरिकको मृत्यु भएको छ। सगरमाथा क्षेत्रमा ज्यान गुमाउनेमा सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुर गेल्जेन शेर्पा रहेका छन्। उनीहरू क्रमशः सेभेन समिट, ट्याग नेपाल र काइटु एक्सपिडिसनसँग आबद्ध थिए।
त्यस्तै, चेक रिपब्लिकका आरोही डेभिड रुभिनेक र अमेरिकी नागरिक जोहानेसेन शेलीको मकालु हिमालमा निधन भएको विभागले जनाएको छ। डेभिड आईएएम ट्रेकिङ कम्पनीमार्फत र जोहानेसेन सेभेन समिटमार्फत आरोहणमा गएका थिए।

