काठमाडौँ । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल हुम्लाको सिमकोटमा बढ्न थालेको छ। नेपालगन्जबाट हवाईमार्ग हुँदै सिमकोट–हिल्सा नाका भएर चीनस्थित मानसरोवर कैलाश पर्वततर्फ जाने तीर्थयात्री आउने क्रम तीव्र बनेको हो।
सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका अनुसार वैशाख ३० गतेदेखि सुरु भएको यात्रामा चार दिनभित्र १६९ जना तीर्थयात्री सिमकोट आइपुगेका छन्। तीमध्ये १४७ जना भारतीय र २२ जना अन्य देशका नागरिक रहेका छन्।
प्रतिकूल मौसमका बीच शनिबार मात्रै समिट एयरका तीन उडानमार्फत ४७ जना तीर्थयात्री सिमकोट पुगेका थिए। तर, तीमध्ये २३ जनासँग कैलाश मानसरोवर यात्रा अनुमति (परमिट) नभएकाले उनीहरू सिमकोटमै रोकिएका छन्।
गत चैत २१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले परमिट जारी हुन ढिलाइ भएको जनाइएको छ।
भारतीय तीर्थयात्रीको आगमन सुरु भएको प्रारम्भिक चार दिनकै तथ्यांकले यस वर्ष यात्रु संख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।
२०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटकको आवागमन सुरु भएको थियो। कोरोना महामारीका कारण केही समय बन्द रहेको नाका गत वर्षदेखि पुनः सञ्चालनमा आएपछि चीनले भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवर यात्रा अनुमति दिएको थियो। गत वर्ष मात्रै चार महिनाको अवधिमा करिब ६ हजार ५०० भारतीय पर्यटकले उक्त धार्मिक यात्रा गरेका थिए।

