काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङ क्षेत्रमा जङ्गली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । प्रहरीका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको थियो भने सञ्जयको गएराति उपचारका क्रममा ज्यान गएको हो ।
वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच सदस्यीय परिवारले जङ्गली च्याउ खाएका थिए । त्यसपछि तीन जना बिरामी परेपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
उपचारकै क्रममा नमुनाको जेठ १ गते मृत्यु भएको थियो । अर्की १३ वर्षीया मनिता चेपाङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ ।

