पत्रकार महासंघ काभ्रेको साधारणसभा सम्पन्न, अग्रज पत्रकार मधुसुदन गुरागाईं सम्मानित

काभ्रे । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चार क्षेत्रमाथि अंकुश लगाउने, आर्थिक नियन्त्रण गर्ने तथा विज्ञापन नीतिमा एकाधिकार कायम गर्न खोजेको आरोप लगाउँदै महासंघ देशव्यापी सशक्त आन्दोलनको तयारीमा रहेको बताउनुभएको छ ।

काभ्रेको बनेपामा आयोजित नेपाल पत्रकार महासंघ काभ्रे शाखाको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सरकारले स्थानीय तह र प्रदेशलाई दिइएको संवैधानिक अधिकार खोस्ने प्रयास गरेको दाबी गर्नुभयो । उहाँले सरकारी सञ्चारमाध्यमलाई मात्रै प्राथमिकता दिने गरी जारी गरिएको विज्ञापन सम्बन्धी परिपत्र असंवैधानिक र विभेदकारी भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो ।
उहाँले महासंघ अहिले इतिहासकै कठिन मोडमा रहेको उल्लेख गर्दै जेठ ७ गतेदेखि देशभर सुरु गरिएको हस्ताक्षर अभियान एक सातासम्म सञ्चालन हुने जानकारी दिनुभयो । सरकारले समस्या समाधानतर्फ ध्यान नदिए थप सशक्त आन्दोलनमा जाने चेतावनी पनि उहाँले दिनुभयो ।

अध्यक्ष शर्माले लोककल्याणकारी विज्ञापनको रकम फुकुवा भए पनि आगामी बजेटमा यसको निरन्तरताप्रति आशंका रहेको बताउँदै निरन्तर खबरदारी आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै प्रेस काउन्सिल नेपाल नेतृत्वविहीन अवस्थामा रहेको र पत्रकारलाई समाचार स्रोत खुलाउन दबाब दिने प्रवृत्ति बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समय मिडियामाथिको दबाब २०६२/६३ को जनआन्दोलन अघिको अवस्थाभन्दा पनि कठोर बनेको दाबी गर्दै महासंघ अब ज्ञापनपत्र र वार्तामै सीमित नरही निर्णायक सडक आन्दोलनमा जाने तयारीमा रहेको बताउनुभयो । श्रमजीवी पत्रकार बेरोजगार हुने र सञ्चारमाध्यम बन्द हुने अवस्था बढ्दै गएको भन्दै लोकतन्त्र र संविधान रक्षाका लागि सबै पत्रकार एक हुनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रभावका कारण भ्रमपूर्ण सूचना बढेको तथा मूलधारका मिडियाको विश्वसनीयतामाथि चुनौती थपिएको उहाँको भनाइ थियो । नयाँ प्रविधि र डिजिटल पत्रकारिताको चुनौती सामना गर्न पत्रकारको क्षमता अभिवृद्धि, तालिम तथा स्पष्ट नीति आवश्यक रहेको उहाँले बताउनुभयो । कन्टेन्ट क्रिएटरलाई पनि जिम्मेवार बनाउने गरी राज्यले नीति ल्याउनुपर्ने धारणा उहाँले राख्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले पत्रकारहरूको पेशागत हकहित, प्रेस स्वतन्त्रता संरक्षण र सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणमा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । सरकारले सञ्चार क्षेत्रप्रति कठोर नीति अपनाउँदै गएको भन्दै उहाँले पत्रकारलाई आफ्नो पेशागत धर्मप्रति सचेत रहन आग्रह गर्नुभयो ।

साधारण सभा महासंघ काभ्रे अध्यक्ष विनोद न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, ईश्वरी ओझा, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना तथा बद्रीराज तिमल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी फोनिज काभ्रे अध्यक्ष इन्द्रबहादुर थापा, प्रेस युनियन काभ्रे सचिव शुभराज अधिकारी, प्रेस सेन्टर काभ्रे अध्यक्ष रामप्रसाद ढकाल, प्रेस चौतारी काभ्रे अध्यक्ष केदार तिमल्सिना तथा सञ्चारिका समूह काभ्रे अध्यक्ष सुनिता सापकोटाले पत्रकारिताको विकास, प्रेस स्वतन्त्रता र पेशागत एकताका विषयमा धारणा राख्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा “भरतराज पत्रकारिता पुरस्कार” बाट अग्रज पत्रकार मधुसुदन गुरागाईंलाई नगदसहित सम्मान गरिएको थियो । महासंघ शाखा सचिव नगेन्द्र अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशवराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो । बन्दसत्र पूर्व महासंघ सभापति भोजराज तिमल्सिनाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको