काठमाडाैं । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकबाट प्रहरीले एक युवालाई बेहोस अवस्थामा उद्धार गर्दै उनको साथबाट रु १ लाख १८ हजार नगद बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पाल्पाको रामपुर गाउँपालिका–२ निवासी ३२ वर्षीय हरि थापा अत्यधिक मदिरा सेवनका कारण शनिबार साँझ सडकमा बेहोस अवस्थामा लडिरहेको अवस्थामा फेला परेका थिए ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनलाई उद्धार गरी तत्काल उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्याएको थियो । उपचारपछि अस्पतालबाट डिस्चार्ज भए पनि थापा हालसम्म प्रहरी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
उनको साथबाट बरामद भएको नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको छ । प्रहरीले मोबाइलमार्फत सम्पर्क गर्ने प्रयास गरे पनि फोन सम्पर्क हुन नसकेको जनाएको छ ।
भारतबाट नेपाल फर्किएका थापाले नेपाल–भारत बस सेवामार्फत काठमाडौँ जान रात्रिबसको टिकट लिइसकेका थिए । तर नशाको कारण उनी बस छुट्न पुगेका थिए ।

