काठमाडौँ । दाङमा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शनिबार बबई गाउँपालिका–७ को बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको थियो।
केसीसहित सात जनाको टोलीले ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मारिरहेका बेला उनी घाइते भई बेहोस भएका थिए। उनलाई तत्काल एम्बुलेन्समार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, मेखलाल रेउले, गणेश अधिकारी, युवराज भण्डारी, सङ्गम पाउ तथा शान्तिनगर गाउँपालिका–३ का गोविन्द सुवेदीलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

