काठमाडौँ । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आज बिहान बडीमालिका नगरपालिका–२ भौनेरा क्षेत्रमा दुर्घटना भएको हो।
मार्तडी–गौमुल पक्की सडकखण्डमा चलिरहेको से २ त ३६४८ नम्बरको ट्याक्टरको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका स्थायी घर भएका २२ वर्षीय चालक दीपेन्द्र चौधरी घाइते भएका छन्। उनको ढाड र खुट्टामा चोट लागेको बताइएको छ।
घाइते चौधरीको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

