सूचना तथा सञ्चारमन्त्री तिमिल्सिनाद्वारा साहित्यलाई मानव सभ्यताको आधारभूत माध्यमको रूपमा व्याख्या

काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन–जगत्लाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्।

काठमाडौँमा आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा उनले साहित्यले समाज र मानव संवेदनाबीच आत्मचिन्तन र सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा काम गरिरहेको उल्लेख गरे।

उनले आजको डिजिटल युगमा मानिसहरू अझ बढी जोडिए पनि एकअर्कालाई बुझ्ने क्षमता घट्दै गएको भन्दै साहित्यले त्यस खाडललाई पूर्ति गर्ने बताए। “साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही समय रोक्न बाध्य बनाउँछ,” उनले भने।

मन्त्री तिमिल्सिनाले कविता, कथा, उपन्यास र अनुवादले मानवताको संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै लेखकहरूले केवल सिर्जना मात्र नभई मानवतालाई जोगाइरहेको धारणा राखे।

उनले नेपालमा बोलिने १२० भन्दा बढी भाषाले देशको सांस्कृतिक विविधतालाई समृद्ध बनाएको उल्लेख गर्दै हरेक भाषाले आफ्नो अलग विश्वदृष्टि बोकेको बताए।

त्यसैगरी उनले आधुनिक सञ्चार प्रणाली अघि पनि लोकसाहित्य, कथा वाचन र मौखिक परम्पराले समाजलाई जोडेको स्मरण गराउँदै साहित्य मानव सभ्यताको निरन्तर विकसित आधार भएको बताए।

मन्त्री तिमिल्सिनाले साहित्यिक मेला र अन्तर्राष्ट्रिय जमघटले विचार आदान–प्रदान र सीमापार सांस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको