नापी विभागद्वारा ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा सार्वजनिक गरिएको एपमार्फत नागरिकले घरमै बसेर विभिन्न जग्गासम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्।

नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ। एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सेवाग्राहीले आवेदन दर्तापछि प्राप्त हुने ओटीपीमार्फत आफ्नो आवेदनको अवस्था अनलाइनमै हेर्न सक्नेछन्। साथै ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व भुक्तानी गर्ने सुविधा पनि एपमा समावेश गरिएको छ।

एपमार्फत सम्बन्धित नापी कार्यालयका प्रमुख तथा सूचना अधिकारीको सम्पर्क विवरणसमेत प्राप्त गर्न सकिने विभागले जनाएको छ। ‘मेरोकित्ता’ सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको छ।

मन्त्री प्रतिभा रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्ने सरकारको प्राथमिकताअनुसार यो एप ल्याइएको बताउँदै यसले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको