महेन्द्र राजमार्गको अतिक्रमित सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न विभागको आग्रह

काठमाडौँ । सडक विभागले कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अतिक्रमित सार्वजनिक जग्गा तत्काल खाली गर्न आग्रह गरेको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले १५ दिने सूचना जारी गर्दै सडक केन्द्रबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र सडक सीमाभित्र पर्ने भएकाले स्वीकृतिविनाका अस्थायी तथा स्थायी घरटहरा हटाउन अनुरोध गरेको हो।

कार्यालय प्रमुख राजेशकुमार यादवका अनुसार गड्डाचौकीदेखि चिसापानीसम्मको १२६ किलोमिटर सडक खण्डमा लामो समयदेखि अस्थायी टहरा, प्रतीक्षालय, शौचालयलगायत विभिन्न संरचना निर्माण गरी सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ।

विभागले सूचना अवधिभित्र संरचना नहटाए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को उपदफा (३) अनुसार हटाउने चेतावनी दिएको छ। साथै, संरचना हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने पनि सूचनामा उल्लेख छ।

सडक विस्तार, मर्मत तथा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन अतिक्रमित क्षेत्र खाली गराउन लागिएको विभागले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको