तातोपानी बस्ती जोगाउन नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानीको मसार क्षेत्रमा सञ्चालन गरिएको नदी नियन्त्रण योजना निर्धारित समयभन्दा एक महिनाअघि नै सम्पन्न भएको छ।

म्याग्दी नदीको कटान तथा बाढीको जोखिमबाट तातोपानी बस्तीलाई संरक्षण गर्न जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो। कार्यालयका इन्जिनियर नरजङ गुरुङका अनुसार मसार क्षेत्रमा नदी किनारमा १०२ मिटर लामो, चार मिटर चौडा र तीन मिटर अग्लो कङ्क्रिट संरचनामाथि ग्याविन पर्खाल निर्माण गरिएको छ।

रु तीन करोड ६८ लाख ८६ हजारभन्दा बढी लागत अनुमान गरिएको उक्त योजनाका लागि आरआरसी/जेमी जेभीसँग २०८२ वैशाख १० गते रु दुई करोड ७१ लाखमा सम्झौता भएको थियो। आगामी असार २० गतेसम्म सम्पन्न गर्नुपर्ने योजना निर्माण कम्पनीले लक्ष्यभन्दा एक महिनाअघि नै पूरा गरेको जनाएको छ।

निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीका अनुसार गत माघदेखि सुरु गरिएको काम इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद समयमै सम्पन्न गरिएको हो।

२०७८ सालमा आएको बाढीले तातोपानीको फापरखेत र मसार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। त्यस क्रममा मसारका दुई घर भत्किएका थिए। नयाँ संरचना निर्माण भएपछि फापरखेतस्थित सरस्वती माध्यमिक विद्यालय, ज्वालामाई भगवती आमा समूहको भवन तथा मसारका १७ घरधुरी प्रत्यक्ष रूपमा सुरक्षित भएका छन्।

करिब एक सय परिवार बसोबास गर्ने उपल्लो तातोपानी बजार अझै पनि नदी कटानको जोखिममा रहेकाले विभिन्न तहका सरकारको सहयोगमा थप संरक्षण संरचना निर्माण भइरहेको वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिए।

प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानी म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको