काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। आगामी भदौ ७ गतेदेखि फ्लाइ दुबईले पोखरा–दुबई नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उक्त उडानका लागि आवश्यक अनुमति प्रदान गरिसकेको छ।
फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ विमानमार्फत सेवा सञ्चालन गर्नेछ। तालिकाअनुसार विमान साँझ ६:१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ भने ७:१५ बजे दुबईका लागि उड्नेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा–दुबई हवाई यात्रा करिब पाँच घण्टाको हुनेछ। नियमित उडान सुरु भएसँगै पोखराबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने र पर्यटन तथा व्यापार प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

