काठमाडौँ । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून आय भएका परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ।
कार्यक्रमअन्तर्गत आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका ४४ परिवारको लिबर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमार्फत निःशुल्क जीवन बिमा गरिएको वडा कार्यालयले जनाएको छ।
दैनिक जीविकोपार्जनमै संघर्षरत परिवारलाई दुर्घटना, बिरामी वा मृत्युजस्ता आकस्मिक जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो। विशेषगरी वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुमवासी तथा विपन्न परिवारलाई लक्षित गरी यो सुविधा उपलब्ध गराइएको छ।
वडाध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सुरक्षाको पहुँच सबै नागरिकसम्म विस्तार गर्ने अभियानअन्तर्गत कार्यक्रम ल्याइएको बताए। उनका अनुसार अप्रत्याशित घटनाले विपन्न परिवारलाई थप समस्यामा पार्ने भएकाले न्यूनतम आर्थिक सुरक्षा प्रदान गर्न जीवन बिमा कार्यक्रम सञ्चालन गरिएको हो।
म्यादी जीवन बिमाअन्तर्गत प्रतिव्यक्ति वार्षिक रु २५० बिमा शुल्कमा रु एक लाखसम्म उपचार सुविधा तथा बीमित व्यक्तिको मृत्यु भएमा परिवारलाई रु एक लाख ५० हजारसम्म राहत रकम उपलब्ध हुने व्यवस्था गरिएको छ।
यस कार्यक्रमका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा रु ५० हजार बजेट विनियोजन गरेको थियो। वडा सदस्य शान्ति कोइरालाले न्यून शुल्कमा उपलब्ध हुने यस्तो सुविधाले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिन्।
वडाले बिमा कार्यक्रमसँगै लक्षित समुदायलाई जीवन बिमाको आवश्यकता, प्रक्रिया र फाइदाबारे सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।

