*काठमाडौँ/दिल्ली, २२ जेठ ।ब्रेन ट्युमरको गम्भीर समस्यासँग जुधिरहेका नेपाली राजन तिवारिको सम्पुर्ण खर्च भारतको दिल्ली (महिपालपुर) निवासी रोहित शेरावतले व्यहोर्ने भएका छन ।
लामो समयदेखि ब्रेन ट्युमरको गम्भीर समस्यासँग जुधिरहेका एक नेपाली युवा आर्थिक अभावका कारण उपचार नै नपाई घर फर्किनुपर्ने चरम निराशाजनक अवस्थामा पुगेका बेला एक भारतीय नागरिक उनका लागि *”देवदूत”* बनेर प्रकट भएका छन् ।
ज्योतिष परिषद् नेपालका कर्णाली प्रदेश जुम्ला जिल्ला सिजा गाउपालिका २ बस्ने अध्यक्ष ज्यो. तिर्थराज तिवारीका २१ वर्षीय कान्छा सुपुत्र राजन तिवारी विगत लामो समयदेखि ब्रेन ट्युमरको उपचारका क्रममा भारतका दिल्ली, लखनऊ लगायतका विभिन्न प्रतिष्ठित अस्पतालहरूमा भर्ना हुनुभएको थियो। लामो र जटिल उपचारका कारण परिवारको ठूलो धनराशि खर्च भइसकेको र थप उपचारका निमित्त आवश्यक पर्ने मोटो रकमको कतैबाट जोहो हुन नसकेपछि परिवार चरम आर्थिक संकटमा परेको थियो।
ब्रेन ट्युमर जस्तो असाध्य रोगको उपचार खर्च धान्न नसकेर अन्ततः उपचार नै अधुरो छोडी बिरामीलाई घर फर्काउने सम्मको अप्रिय र बाध्यकारी मानसिकतामा परिवार पुगिसकेको थियो। एउटा तन्नेरी छोराको जीवन आँखा अगाडि नै निभ्न लाग्दा पनि आर्थिक अभावकै कारण लाचार बन्नुपरेको त्यो कारुणिक क्षणमा *भारतको दिल्ली (महिपालपुर) निवासी रोहित शेरावत* तिवारी परिवारका लागि साक्षात् भगवानको रूपमा प्रस्तुत हुनुभएको छ।
सहृदयी मानवतावादी व्यक्तित्व शेरावतले *”आर्थिक अभावकै कारण उपचाररत बालकले उपचार नै नपाएर संसारबाट बिदा हुनुपर्ने अवस्था आउनु हुँदैन”* भन्दै अदम्य साहस र उदारताका साथ ती बालकको आगामी सम्पूर्ण उपचार खर्च आफू एक्लैले व्यहोर्ने घोषणा गर्नुभएको छ।
नेपाली माटोको एउटा होनहार छोराको जीवन रक्षाका लागि सरहद पारिबाट रोहित शेरावतले बगाउनुभएको यो मानवीयताको गङ्गा अतुलनीय छ। उहाँको यो असीमित परोपकारी भावनाको जति नै प्रशंसा गरे पनि कम हुन्छ। भौगोलिक सीमाभन्दा माथि उठेर, संकटको घडीमा कसैको अमूल्य जीवन बचाउन आफ्नो सर्वस्व अर्पण गर्न तयार हुने शेरावतको यो कदमले संसारमा अझै पनि मानवता जीवन्त छ भन्ने बलियो प्रमाण दिएको छ। दुःखको महासागरमा डुबेको एउटा नेपाली परिवारलाई नयाँ जीवनको उज्यालो छरिदिने दाता शेरावतप्रति सम्पूर्ण नेपाली जनमानस तथा ज्योतिष क्षेत्र र हामी कृतज्ञता ज्ञापन गर्दै मुक्तकण्ठले उच्च सम्मान प्रकट गर्दछौँ।
दाता शेरावतको यो अकल्पनीय र सहृदयी सहयोगले अहिले राजनको थप उपचार भारतमै द्रुत गतिमा अघि बढाउने वातावरण बनेको छ। निःस्वार्थ भावले गरिएको यो महादानले राजनले पुनर्जीवन पाउने विश्वास पलाएको छ भने समाजमा परोपकारको नयाँ मानक स्थापित भएको छ।

