काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडक किनाराको भित्तामा ठोक्किएको थियो।
दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका–११ बस्दै आएका २५ वर्षीय निरज अस्रामी मगरसहित पाँच जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा दिलबहादुर कुमाल, निर्मल दराई, पूर्णप्रसाद दराई, अर्जुनबहादुर दराई र अमर दराई रहेका छन्।
घाइते सबैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा क्रेनमा क्षति पुगेको छ भने सवारी साधन घटनास्थलमै रहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

