एमसीसी अन्तर्गत २९७ किमि प्रसारण लाइन र दुई ठूला सबस्टेशन निर्माण कार्य सुरु

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ। यसअन्तर्गत नुवाकोटको रातमाटे र तनहुँको नयाँ दमौलीमा ४०० केभी क्षमताका सबस्टेशन तथा २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ।

बुधबार नुवाकोटस्थित रातमाटे सबस्टेशन निर्माणस्थलमा आयोजित कार्यक्रममा आयोजना शिलान्यास गरिएको हो। कार्यक्रममा नेपाल सरकार, अमेरिकी दूतावास, एमसीसी, विकास साझेदार, निर्माण व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

यो आयोजना अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मार्फत प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर लगानीमा कार्यान्वयन भइरहेको छ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत कुल तीन वटा ४०० केभी उच्च क्षमताका सबस्टेशन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछन्। बुधबार शिलान्यास गरिएको २९७ किलोमिटर प्रसारण लाइनमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा, रातमाटे–न्यू दमौली तथा न्यू दमौली–न्यू बुटवल खण्ड समावेश छन्।

अर्थ सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले आयोजनालाई नेपालको आर्थिक भविष्यसँग जोडिएको महत्वपूर्ण लगानीको रूपमा वर्णन गर्दै ऊर्जा सुरक्षा, औद्योगिक विस्तार र लगानी प्रवर्द्धनका लागि प्रसारण पूर्वाधार सुदृढ हुन आवश्यक रहेको बताए।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले आयोजनाले नेपालको ऊर्जा भविष्यलाई बलियो बनाउने उल्लेख गर्दै भरपर्दो विद्युत् आपूर्तिले घरपरिवार, उद्योग र व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने बताए।

निर्माण सम्पन्न भएपछि रातमाटे र नयाँ दमौली सबस्टेशन देशकै ठूला उच्च–भोल्टेज क्षमताका सबस्टेशनमध्ये पर्नेछन्। आयोजनाले राष्ट्रिय विद्युत् प्रसारण सञ्जाललाई थप मजबुत बनाउँदै क्षेत्रीय ऊर्जा बजारमा नेपालको सहभागिता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको