काठमाडौं । पोखरामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी ५३ वर्षीय विष्णुबहादुर खत्री रहेका छन्।
आज पोखरा–२७ डाँडाकोनाक क्षेत्रमा विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

