काठमाडौं । सरकारले आगामी असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उक्त जानकारी दिएकी हुन्।
सांसदहरूको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री रावलले सरकारले लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइसकेको बताइन्। उनले भनिन्, “लालपुर्जाको हकमा हामीले आवश्यक काम सुरु गरिसकेका छौं। अब असारको तेस्रो सातादेखि लालपुर्जा वितरण गर्ने कार्य प्रारम्भ हुनेछ।”
छलफलका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासीहरूलाई लालपुर्जा वितरण हुने वा नहुने विषयमा सरकारको धारणा माग गरेका थिए। उनले काठमाडौंका सुकुमवासीहरूलाई विस्थापन गरेर होल्डिङ सेन्टरमा राखिएको र त्यहाँको व्यवस्थापनसमेत प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरे।
साम्पाङले सरकारले उचित व्यवस्थापन गर्न नसक्ने अवस्था भए सुकुमवासीलाई उनीहरू बसोबास गर्दै आएको स्थानमै व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिएका थिए।
सरकारले विगतमा भूमि आयोगमार्फत सुकुमवासी व्यवस्थापनको काम गर्दै आएको भए पनि हाल भूमि सम्बन्धी विशेष समितिमार्फत उक्त कार्यलाई अगाडि बढाइएको जनाएको छ।

