झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

काठमाडौं । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षा सुनिश्चित गर्न झापामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा टास्क फोर्स गठनको प्रक्रिया अघि बढाइएको झापा क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिएकी छन्। उनका अनुसार प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

गठनपछि टास्क फोर्सको परिचालन प्रमुख जिल्ला अधिकारीको समन्वयमा हुने बताइएको छ।

हालै मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको घरआँगनमै हात्तीको आक्रमणबाट ज्यान गएपछि स्थानीयवासीले सुरक्षा व्यवस्था कडा बनाउन सरकारसँग माग गर्दै आएका छन्।

सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले पनि संसद्मा हात्ती नियन्त्रण र नागरिक सुरक्षाका लागि तत्काल ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रस्तावित टास्क फोर्समा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको सहभागिता रहने र यसको सञ्चालन तथा समन्वय प्रमुख जिल्ला अधिकारीले गर्ने कार्ययोजना रहेको सांसद डाँगीले बताएकी छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको