अटिजम भएका बालबालिकाको अधिकार सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध : मन्त्री सीता बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मंगलबार भरतपुर महानगरपालिका–१० स्थित बालमन्दिर अटिजम विद्यालय तथा एसओएस बालग्राम भरतपुरको अनुगमन तथा अवलोकन गरेकी छन्।

अनुगमनका क्रममा उनले अटिजम भएका बालबालिकाको शैक्षिक अवस्था, उनीहरूलाई उपलब्ध गराइँदै आएको शिक्षण तथा सहयोग प्रणाली, पुनःस्थापना तथा परामर्श सेवा, साथै विद्यालयको समग्र सिकाइ वातावरणबारे जानकारी लिएकी थिइन्।

सो अवसरमा मन्त्री बादीले विशेष आवश्यकता भएका बालबालिकाको क्षमता विकास, आत्मनिर्भरता र सामाजिक समावेशीकरणका लागि समावेशी तथा गुणस्तरीय शिक्षा अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले अटिजम भएका बालबालिकाले पनि अन्य बालबालिकासरह शिक्षा, स्वास्थ्य, संरक्षण तथा सम्मानपूर्वक जीवनयापन गर्ने अधिकार पाउनुपर्नेमा जोड दिइन्।

सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति, आवश्यक शैक्षिक सामग्री, बालमैत्री वातावरण र अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।

मन्त्री बादीले अटिजमलगायत विशेष आवश्यकता भएका बालबालिकाको अधिकार संरक्षण तथा गुणस्तरीय सेवा सुनिश्चित गर्न मन्त्रालयले आवश्यक पहल र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको