तराईमा तापक्रम बढ्दै, तीन दिनसम्म तातो हावाको चेतावनी

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेका बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई तातोबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि तापक्रम बढ्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।

विभागको पूर्वानुमानअनुसार धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्नेछ भने नेपालगञ्ज र भैरहवामा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ। वीरेन्द्रनगर र घोराहीमा पनि तापक्रम उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।

प्रवक्ता पोखरेलले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा स्वास्थ्यमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेकी छन्। मौसमविद्हरूले उच्च तापक्रमका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको