भेनेजुएला भूकम्प : मृतक १,४३० पुगे, ११ वर्षीय बालकको सकुशल उद्धार

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धार टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा निरन्तर खटिएका छन्। समय बित्दै जाँदा जीवित व्यक्तिहरू भेटिने सम्भावना भने क्रमशः घट्दै गएको छ।

आइतबारसम्म प्राप्त विवरणअनुसार भूकम्पमा ज्यान गुमाउनेको संख्या १,४३० पुगेको छ। यद्यपि शनिबार साँझ उत्तरको काराबालेडा शहरमा भग्नावशेषबाट ११ वर्षीय एक बालकलाई सकुशल उद्धार गरिएको छ। अन्तरिम नेता डेल्सी रोड्रिगेजले उद्धारको भिडियो सार्वजनिक गर्दै, “भेनेजुएलाका लागि हरेक जीवन आशाको स्रोत हो,” भनेका छन्।

भूकम्पका कारण हजारौँ मानिस बेपत्ता भएका छन् भने ठूलो संख्यामा घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरका अनुसार प्रारम्भिक अनुमानमा ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन्।

पहिल्यै आर्थिक सङ्कट र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भेनेजुएलामा प्राकृतिक विपत्तिले मानवीय संकटलाई अझ गम्भीर बनाएको छ। लाखौँ मानिस स्वच्छ पानी, सरसफाइ र अन्य आधारभूत सेवाबाट वञ्चित हुने जोखिममा रहेको बताइएको छ।

विशेषज्ञहरूका अनुसार प्राकृतिक विपत्तिपछि पहिलो ७२ घण्टा जीवित उद्धारको सबैभन्दा महत्वपूर्ण अवधि मानिन्छ। त्यसपछि जीवित भेटिने सम्भावना निकै कम हुँदै जान्छ।

एक साल्भाडोरियन उद्धारकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने, “यो अवस्थामा जीवित मानिस भेटिने सम्भावना निकै कम हुन्छ। भगवानको कृपाले केही व्यक्ति जीवित भेटिए भने त्यो ठूलो चमत्कार हुनेछ।”

उद्धार कार्यमा स्थानीय बासिन्दाहरू पनि सक्रिय छन्। आवश्यक उपकरणको अभावका कारण उनीहरू हातैले भग्नावशेष हटाएर मानिसहरूको खोजी गरिरहेका छन्।

अमेरिकाले सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलको एउटा रनवे आंशिक रूपमा सञ्चालनमा रहेको र त्यहाँ सी–१७ सैन्य विमान अवतरण गर्न सक्ने जनाएको छ। साथै, राहत सामग्रीसहित अमेरिकी नौसेनाको एक जहाज पनि तटमा पुगिसकेको छ। स्थानीय प्रशासनको उद्धार तथा राहत कार्यप्रति सार्वजनिक असन्तुष्टि बढिरहेका बेला अन्तरिम नेता रोड्रिगेजले सहयोग गर्ने सबै देशप्रति आभार व्यक्त गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको