काठमाडौं । धनकुटाको पाख्रीबास नगरपालिका–८ स्थित सुनवालुवा क्षेत्रको सोनवर्षा जंगलमा अन्दाजी ४५ वर्षीय एक अज्ञात पुरुषको बेवारिसे शव फेला परेको छ।
जंगलमा एक व्यक्ति मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले नाम, थर र ठेगाना नखुलेका तथा पहाडी मूलका जस्तो देखिने पुरुषको सडेको अवस्थामा शव फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार मृतकले लगाएको तल्लो वस्त्र विद्यालयका कर्मचारीले लगाउने पाइन्टजस्तै देखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखिएको छ।
मृतकको पहिचान अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

