काठमाडौं । मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अटोमा चार जना सवार रहेका थिए।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले चारै जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। गम्भीर घाइते लेटाङ नगरपालिका–६ का ६० वर्षीय मुनराज लावतीको एपेक्स अस्पताल, लेटाङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालक लेटाङ नगरपालिका–६ का ४० वर्षीय वीरबहादुर राई, सोही ठाउँकी २७ वर्षीया शान्ति राई र लेटाङ नगरपालिका–५ की ५० वर्षीया अनु राई घाइते भएका छन्। उनीहरूको एपेक्स अस्पताल, लेटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

