कर्णाली राजमार्गका दुर्घटनाप्रति संसदमा गम्भीर चिन्ता, स्तरोन्नति गर्न सरकारलाई माग

काठमाडौं । कर्णालीबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूले कर्णाली राजमार्गमा भइरहेका लगातारका सडक दुर्घटनाप्रति गम्भीर ध्यान दिन सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनीहरूले राजमार्गको स्तरोन्नति गरी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन आग्रह गरे।

नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले दैलेखमा यात्रुवाहक बस कर्णाली नदीमा खसेर बेपत्ता भएको पाँच दिन बितिसक्दा पनि यथार्थ अवस्था सार्वजनिक हुन नसकेको भन्दै सरकारको आलोचना गरे। उनले कर्णालीका सडकहरू नागरिकका लागि जोखिमपूर्ण बन्दै गएको उल्लेख गर्दै सुरक्षित सडक निर्माणमा सरकार गम्भीर हुनुपर्ने बताए।

एमाले सांसद एशुदाकुमारी बरालले कर्णाली राजमार्गको स्तरोन्नति गरी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन माग गरिन्। कांग्रेसका खड्ग शाहीले दुर्घटनाग्रस्त बसको खोजीको पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले कर्णाली राजमार्गमा बढ्दो दुर्घटनाबारे छानबिन गरी सडक मापदण्डअनुसार निर्माण भएको–नभएको स्पष्ट गर्न माग गरे।

उक्त दुर्घटनामा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको बस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा कर्णाली नदीमा खसेको थियो। दुर्घटनापछि बस अझै फेला परेको छैन।

बैठकमा अन्य सांसदहरूले पनि विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। रास्वपाकी अङ्किता ठाकुरले वर्षायाममा यात्रा गर्दा मौसम र सडकको अवस्थालाई ध्यान दिन सर्वसाधारणलाई आग्रह गरिन्। रास्वपाकी स्मृति सेन्चुरीले दोलखामा आगलागीबाट घर गुमाएका परिवारलाई तत्काल राहत दिन माग गरिन् भने एमालेका ऐनबहादुर शाहीले बझाङमा आगलागीपीडितको पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

नेकपाका प्रेमबहादुर बयकले अछाममा बालविकास शिक्षिकामाथि भएको दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न माग गरे। कांग्रेसकी सीता थपलियाले सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमको प्रभाव जनताले महसुस गर्न नसकेको टिप्पणी गरिन्।

नेकपाका रमेशकुमार मल्लले फिफासँग कूटनीतिक पहल गरी नेपालमाथिको प्रतिबन्ध हटाउन सरकारसँग आग्रह गरे। राप्रपाकी खुश्बु ओलीले एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गरिन्।

रास्वपाकी आशिका तामाङले बर्डफ्लुबाट प्रभावित किसानलाई राहत दिन आग्रह गरिन् भने एमालेकी साजिता खातुन सिद्धिकीले बाराकी १३ वर्षीया सरिया खातुनको मृत्यु घटनाका दोषीलाई कारबाही गर्न माग गरिन्। साथै, रास्वपाका नरेन्द्रकुमार गुप्ताले वीरगन्जमा सडक विस्तारका नाममा भइरहेको संरचना भत्काउने कार्य तत्काल रोक्न सरकारसँग माग गरे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको